top of page

भारतमा प्लाईउड निर्यात गर्दै रिहान मिया - Khabarhub

नेपालगञ्ज - आजकाल उनको चर्चा परिचर्चा सुरु हुन थालेको छ । उनको यो चर्चा र परिचर्चा परिवार र आफान्तजनमा मात्रै सिमित छैन, यो चर्चा परिचर्चा अव बिस्तारै व्यावसायिक क्षेत्रमा पनि हुन थालेको छ । भन्न थालेका छन्, यति सानै उमेरमा यो स्तरको सफलता ! उनी हुन २२ वर्षिय रिहान मिया ।


उनले हालै आफ्नो मिडलाज ग्रुपको प्लाईउड उद्योगबाट उत्पादित समान भारतमा निर्यात गर्न थालेका छन् । नेपालगन्जका व्यवसायी तथा उद्यमीहरूले उनलाई भारतमा आफ्नो प्लाईउड निर्यात गर्न थाले पछि बधाई दिइरहेका छन् ।


‘पहिलो पटक मेरो उद्योगबाट भारतमा प्लाईउड निर्यात गर्‍यो, भारतीय ग्राहकले मन पराए पछि पुनः अर्डर आएको छ, त्यो अर्डर पुरा गर्नका लागि पुनः हामी काम गरिरहेका छौँ’ उनले भने । उनका अनुसार भारतबाट आएको माग र नेपालबाट आएको माग पुर्‍याउन हम्मे हम्मे भएको छ ।

उनले पहिलो अर्डरको समान निर्यात गरे र हाल दोस्रो अर्डरका लागि धमाधम काम गरिरहेका छन् ।

उनले भने ‘कतिसम्म भने तपाई जति पनि उत्पादन गर्नुहोस्, हामी लिन्छौँ भनेर भारतीय व्यापारीले भनेका छन् तर उनीहरूको अर्डर अनुसार हामी उत्पादन गर्न सक्ने अवस्था अहिले छैन तर पछि उनीहरूको माग अनुसार उत्पादन गर्ने गरी काम गरिरहेका छौँ ।’


उनले थपे ‘झन् भारतमा समान निर्यात गरे पछि धेरै मान्छेहरूले मलाई भेटेर भनेका छन्, भारतमा निर्यात गरे जस्तै गुणस्तरीय प्लाईउड हामीलाई पनि दिनुहोस् ।’


उनको उद्योग जानकी गाउँपालिका–३ मा छ । उनले आफ्नो उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४०–५० जनालाई रोजगारी पनि दिएका छन् । उनी हिजो आयातित समानको नेपालमा बिक्री वितरण गर्दथे, आजकाल उनी निर्यात गर्न सुरु गर्न थालेका छन् ।


प्लाई उड उद्योग खोल्नुको पनि एउटा रोचक संयोग छ ।‘खासमा म आयातित समानहरुको विक्रि वितरण गर्दै आएको मान्छे हुँ, अहिले म निर्यात गर्ने अवस्थामा पुगेको छु,’ उनले भने ।


उनका अनुसार यसअघि उनी भारतीय कम्पनी अमुलको समानहरू बिक्री गर्दथे । नेपालमा अमुलको समान बिक्री वितरण गर्ने तीन वटा कम्पनी मात्रै छ, जसमध्ये एउटा उनको पनि हो । अमुलको समान एउटा विशाल ग्रुपले बिक्री गर्छ भने अर्को गुरमितले गर्दै आएको छ । ‘तेस्रो चाहिँ मेरो मिडलाज ग्रुप हो’


अमुलको आयातित समान बिक्री वितरण गर्न थालेको दुई वर्ष जति मात्रै भएको थियो, सरकारले विलासिताको समान आयातमा रोक लगाए पछि उनका लागि नयाँ व्यवसाय रोज्नु पर्ने अवस्था आयो ।


‘एउटा बैंकले जग्गा लिलाम गर्न लागेको रहेछ, त्यो जग्गा सकार्ने काम सुरु भयो, त्यो कामले फाइनल टच पाउन लगभग २ वर्ष जति लाग्यो,’ उनले भने, ‘आफ्नो अलिकति सम्पत्ति बेचेर र बैङ्कबाट ऋण लिएर यो उद्योग खोलेका हौँ ।’ त्यसपछि दुई वर्षमा निर्यात गर्ने अवस्था पुगेको हो ।


खासमा उनको पुर्ख्यौली घर कास्की पोखरा हो, व्यापारको सिलसिलामा उनको पिता रहमान मियाँ नेपालगन्ज आए पछि उनी यतै जन्मे हुर्के । ‘मेरो घरजग्गा र आफन्त अहिले पनि पोखरामा हुनुहुन्छ, हामी बेला बेलामा गइरहन्छौं’ उनले भने


‘हाम्रो परिवार धेरै गरिबीमा चलेको थियो, मेरो बुबा रहमान मिया कामको सिलसिलामा २०३४ साल तिर हुम्ला जानु भयो र कामको विवरण भन्नु पर्दा तीन दिन को समय लगाएर हिँड्दै ‍अरुको सामान बोकी पुर्‍याउनु हुन्थ्यो, पछि हुम्लामा नै सानो किराना पसल खोल्नु भयो, केही समय राम्रो व्यापार पनि भयो,’ उनले विगत सुनाए, ‘र, केही जम्मा भएका पैसा लिएर २०५५ सालमा नेपालगन्ज आई पुलिस आर्मीलाई राशनको ठेक्का परे पछि उक्त कामको सुरुवात भयो ।’


त्यसपछि उनकाे बुवाले जग्गा किनि प्लटिङ्को काममा हात हाले । सोही समयमा उनका पिता २ कार्यकाल नेपालगन्ज जामा मस्जिदको अध्यक्ष समेत बने, जसले उनको पिताको सामाजिक छवि स्थापित भयो ।


बुबा पनि ब्यवसायमा लागेकाले उनलाई पनि क्रमशः व्यवसायतिर नै मन जान थाल्यो । त्यसैले उनी नौ कक्षा देखी नै व्यापार ब्यवसायमा लागे । सुरुमा उनले मोबाइलको फाइबर स्क्रिन प्रोजेक्टरको उत्पादन गरे र व्यक्तिगत रूपमा मार्केटिङ अभियानहरू सुरु गरेँ, झोलामा नमूनाहरू बोकेर आफै बजारहरू धाए। केही समय पछि उक्त काम दाजुलाई सुम्पिए ।


त्यसपछि दाजुसँग अलग भएर उनले अमुलको आयातित समानको बिक्री वितरण गर्न सुरु गरे । त्यो पनि विलासिताको समानमा आयातमा सरकारले प्रतिबन्ध लगाए पछि उनले प्लाईउड ब्यवसायमा हात हाले । जुनमा उनले क्रमशः सफलता हासिल गर्दै निर्यात गर्ने अवस्थामा पुगे ।



3 views
bottom of page